Thursday, November 19, 2009

पृयतमा

मुहार शौम्य चन्द्र झैं । प्रत्यंग हाय ! कोमल
गुलाफ फुल्छ ओठमा । सुरम्य आह ! कुन्तल ।
सुश्राब्य मृदु – बोलीकी धनी पृया निरञ्जना
नशालु नैन गर्दछन्– अथाह गोप्य मन्त्रणा ॥१॥

कपोल लाल हाय ! ती सफेद दन्‍त मालिका
छ केश मेघ झैं घना ! ती नैन आह ! कातिल
उठेको पुष्‍ट बक्षले अनेक साउती गरी
निमन्त्रणा पठाउँछन्‌ मलाई नै घडी – घडी ॥२॥

बसन्त मञ्जरी सरी फुलारु वैंस कल्‌कल
म अन्ध बन्छु हाय ! लौ फुरुंग हुन्‍छु पल्‌पल ।
म जित्छु हार्छु जिन्‍दगी उपासनामा प्रेमको
अनेग गीत गाँउछु वियोगमा नि प्रेमको ॥३॥

सुधांसु माद घोल्दछन्‌ गरेर बृष्‍टी जुनको
निशा झनैं पिलाउँछिन्‌ नशा मदीय शीतको ॥
छ रात मस्त साथमा पृया र प्रेम अमृत
बहन्छ रक्त वेगले हृत्तन्त्री हुन्छ झंकृत ॥४॥

पृयाको बाहु पासमा ! आलिङ्गनामा चुम्बन
मिसिन्छ सास सासमा समग्र बल्छ दन्‌दन ।
म हुँ गरीब याचक ! तिमी मुहान प्रेमको
म नित्य गर्छु पूजन ! तिमी प्रतीक प्रेमको ॥५॥

म हेर्छु जून – तारिका असंख्य दूर व्योममा
म खोज्छु मेरी राधिका । प्रद्युम्न बन्‍छु जोसमा–
अधीर भ्रमरो बनी सुवाष खोज्छु प्रेमको
सखी ! तिमी पृयतमा ! सुगन्धी पुष्प प्रेमको ॥६॥

श्रद्धा-सुमन

कस्तो क्रूर अहो ! रहेछ नियती स्वप्ना सबै रल्लिए
स्याना यी मनमा भए जति सवै इच्छाहरू वैलिए ।
सुके पुष्प सबै बसन्त ऋतु मै रोगी हुँदा मौसम
कालो मात्र कठै देखिन्छ जग यो खोक्रो बिरानोपन ॥१॥

पल्क्यो काल यहाँ भिरीकन हरे ! नाना बहानाहरु
गोलीको बमको सिकार जगमा निर्धा र सानाहरु ।
कालो बादल मृत्युको सब दिसा ढाकेर फैल्यो यहाँ
निल्यो शान्ति सबै ! अरिष्‍ट समयै; आतंक नाच्यो यहाँ ॥२॥

प्रहन्ताहरु घुम्दछन्‌ जगतमा सातो सबैको हरी
रोपी मृत्यु अनाहकै रगतको चौतर्फ वर्षा गरी ।
अट्टाहास बिभत्स ! मौन जगको बढाउँछ ढुक्‍ढुकी
गर्छन्‌ राज यहाँ नपुङ्सक हरे काँम्छन्‌ त्यसै थर्थरी ॥३॥

सामन्ती जगका कहारहरु यी पाखण्डमा रम्दछन्‌
सत्ता निम्‍ति हरे ! जुनै किसिमको प्रपञ्च यी रच्दछन्‌ ॥
ब्यर्थै न्याय नखोज हे स्वजन हो ! सुन्ने यहाँ को छ र ?
निर्धाको मनका व्यथाहरु कठै बुझ्ने यहाँ को छ र ॥४॥

जान्छौं पुष्पकमा चढी म अनिसा ! सन्ध्या* ! नहेरी त्यता
आसा न्याय-निसाफको अब तेता ! ब्यर्थै छ यो मान्यता !
बिधाता यदि रैछ कोहि जगको ! सोध्छौं उनै सम्मुख
हाम्रो दोष थियो र के ? फगतमा आसा चुँडायौ सब ॥५॥

यस्तै हो त्यस लोकमा बुझ तिमी मिल्दैन शान्ति सुख
मान्छे भो पशु तुल्य ! आह ! ममता रोयो कठै सुक्सुक ।
भाग्यो लौ करुणा ! कता तिर गयो सद्भावको मन्त्रण ?
सच्चा डोर सबै मतान्धहरुले लुछे, चुँडे बन्धन ॥६॥

बाबा ! हे जननी ! कयौं रहर ती तिम्रा लिई साथमा
छाड्यौं यो धरती बिना कसुर नै मान्छे हुँदा राक्षस ।
मिल्दो रैछ पुनर्जन्म नै यदि भने तिम्रै भै सन्तती
गर्नैछौं सपना साकार सब ती तिम्रा ! नयाँ जन्म ली ॥७॥

हाम्रो याद भए जति सब तिमी बिर्सेर फालीकन
साथी हो ! मनमा भए जति सबै तीता मिठा सम्झना ।
आ-आफ्नो रथमा सवार जगको फाली कुरीती सब
हिंसा-हीन समाजको जगतमा निर्माण निम्ति जुट ॥८॥

*अनिसा, सन्ध्या- सन २००७ मा काठ्माण्डौमा भएको सिरियल बम-बिष्‍फोटनमा परी बितेका स्कुले छात्राहरु।

प्रकृति नियम

२००७।०४।१०
साप्पोरो, जापान ॥

अनन्त फैलियो यहाँ फुटेर शूक्ष्म सैकत
पदार्थका कणा - कणा अनन्य शक्ति द्योतक
पदार्थ - शक्ति, सृष्‍टिका अगण्य द्वैत संगम
अनन्त्य कालको धुरी ! ब्रह्माण्ड घुम्छ फन्‌फन ॥१॥

अनन्त भौतिकी जगत्‌ समस्त जीव, सृष्‍टिका
नक्षत्र, सूर्य, चन्‍द्रमा खगोलका निहारिका
नदी, समुन्द्र, हैमका चुली, पहाड, पर्वत
पदार्थ - शक्ति कै बडो बिराट रूप सार्थक ॥२॥

बिभिन्न सूत्रमा उनी प्रकृति सृष्‍टि गर्दछिन्‌
पदार्थ - शक्ति जोहदैं अनेक छद्म रच्दछिन् !
गरेर सृजना नयाँ, अपार सौम्य, कल्‌कल
निमोठ्न उद्यत स्वयम् गरेर नाश पल्‌पल ॥३॥

झरेर पात बृक्षमा नयाँ मुना पलाउँछन्‌
तिनै मुना वयस्क भै कठै पुन: हराउँछन् -
तथापि बृक्ष शाखमा जिजीविषा यथेष्‍ठ छ
अनेक बज्र कालको सहेर ज्युन पोख्त छ ॥४॥

हिजो जहाँ समुन्द्रका बिशाल छाल उर्लिए
सफेद टाकुरा बनी हिमाल आज अग्लिए !
बिशाल डाइनोसरै ! गरेर नाद, गर्जना
हिजो यहीं त घुम्दथे ! कठै विलुप्‍त आज ता ॥५॥

गुफा - गुफा चहार्नु नै हिजो त नित्‍य दैनिकी
उही मनुष्य आज भोग्छ लौ अपूर्व जिन्दगी ॥
देखिन्छ आज जो यहाँ हिजो थिएन किञ्चित
छ आज जो भविष्‍यमा रहन्न यो छ निश्‍चित ॥६॥

चलायमान कालको अमूर्त विन्दु – विन्दुमा
बिनाश-सृष्‍टि बिम्बिका ! प्रकृति धर्म -तन्त्रमा -
बिनाश मै छ सृष्‍टिको अथाह डिम्ब सेचन !
नियन्त्रणा ! प्रकृतिको अपार नाट्य मञ्चन ॥७॥

अल्लाहलाई निवेदन

२००४।०९।१५

घना गृहै युद्ध, मुलुक भर नै बादल सरी
अनिश्‍चित प्राणै यो, अव शिव हरे ज्‍युनु कसरी ?
भरै के ? गोली त्यो ! पट - पट कतैबाट उदर-
फुटाई प्राणै यो, हरण सहजै गर्न सबल ॥१॥

म एक्‍लो श्रोतै त्यो, बिकल घरमा गाँसहरुको
सुराकी, बिद्रोही पनि फगत मै लक्ष्य सबको
तगारो सत्ताको पनि दिन दिनै मैं हुन गएँ
मुटु यो भारी भो, छटपट ! ब्‍यथा नै बढि भए ॥२॥

पिता - माता बृद्धा, सकल अबुझा सन्‍ततीहरु
जहानै मेरी ती, हर - बखत शेवै गरी अरु
सघाँउथिन्‌ मै लाई सकुशल रथै तान्‍न घरको
थियो यात्रा गाह्रो जीवन पथमा यो अबलको ॥३॥

अघोरी आतंकै सहन सजिलै मुश्‍किल हुँदा
मुलुकै त्यागी त्यो झट - पट बिदेशी सरणमा
गएको देखेथें दिन – दिन चिनेकाहरु सब
गरेंथे निर्णयै ‘म पनि गई हालौं !’ भनि तब ॥४॥

छिचोली पर्वतै, नदी अनि समुन्द्रै, बन पनि
गती ली वायूको गगन भर नै गर्जन गरी
घटा ती मेघैको पनि पल - पलै देख्‍न सकियो
अभागी पुर्पूरो सहज सित जोर्डन पुगि गयो ॥५॥

मिलाई जम्मा दर्जन - जन थियौं जान फगत
“इराकै जाओ लौ !” दिइकन कठै उर्दि सहज
कुदाए गाडीमा पथभर धुलो बुङ्ग उडी गो
अहो ! कस्तो रुक्‍खो ! मन‍, पवन मृगै-मरिचिको ॥६॥

उजाडै भूमी त्यो, दुर - दुर ताहाँ बृक्ष न लता
न देखिन्थे पंक्षी नभ भर ! न ता जन्तु फगत
न पानी नै त्याँहा ! सुदुर तक रेतै गरम त्यो
डढेलै लागेथ्यो मन भितर देखी नजर त्यो ॥७॥

विभासा गर्भैमा दूर क्षितिजको सुस्त गतिले
बिलाए पोती त्यो अबनि पनि लालै किरणले
न भूमी आफ्‍नो त्यो न त थिए कुटुम्बै पनि कुनै
मनै यो भन्दैथ्यो, “अब मरण भो लौ अनाहकै”॥८॥

नभन्दै आए ती अमनुजहरुका दुतहरु
बनाए बन्दी नै नबुझिकन हाम्रा मनहरु
भनेको, “अल्लाहा !” सिवाय अरु केही नबुझिने
जबानै अप्ठ्‍यारो सहजसित बोल्नै नसकिने ॥९॥

सुनायौं खोली त्यो मन भितरका दु:ख र पिर
बुझायौं ज्‍यामी हौं भनिकन मनैका बह सब
चिनाई नक्शामा मुलुक अति सानो भनिकन
बतायौं बुद्धैको जनम - थलका हौं भनिकन ॥१०॥

पुकारा देशैको निरिह सरकारै सित पनि
‘बचाओ प्राणै यो ! गरिकन अपीलै अब !’ भनी
‘भरोसा त्यत्ति मै अब फगत प्राणै रहनको !’
गरेथ्यौं टिभी मै पटक पटक त्यो अरबको ॥११॥

नहुँदा देशै त्यो, जगत भर नै खास सबल
नगर्दा रत्ति नै पनि जबरले खोज खबर
कठै यी प्राणैको, हबिगत हुने भो अब छिटै
बिदेशी भूमीमा, अब सिंचन भो लौ रगत कै ॥१२॥

लडाई बालूमा, नयन पनि छोपी फगत यी
न हातै नै खुल्ला, न त सकिनु चल्नै अलिकति
नबोल्नै पाइयो, मरण पलमा अन्तिम घडी
अहो कस्तो भाग्यै, कति कठिन भो जीवन गति ॥१३॥

छुरा ली धारीला, झटपट अहो ! रेट्न अब त
बसे ती ‘अल्लाहा !’ लिइकन कठै नाम फगत
भिजायो बालू त्यो, रगत जमिनैमा बगि दिंदा
सकियो चोला त्यो, अनि सुरु भयो यात्रा नविन ॥१४॥

पुगी दैवी लोक्‌मा सहज सित भेटै गरिकन
निवेदन्‌ अल्लाहासित ‘किन ! कठै मानविपन !”
‘हरायो धर्तीमा ! अब अरु कतिन्जेल तक ?’ भनी
गरौंला प्रार्थाना, ‘मनुज सबको हृदय भरी’ ॥१५॥

‘दया माया मात्रै, सकल भरि देऊ अब अनि,
नदेऊ रत्ति नै, फिंजिन असहिष्णुपन पनि
फुलाऊ धर्ती त्यो ! सबजन रहुन् हर्षित भई
कसैको मेरो झैं, मरण अब नहोस् लौ अनाहकै ॥१६॥

-इराकमा अनाहकमा प्राण गुमाएका निर्दोष नेपालीहरुको आत्माको चीर शान्तिको कामना गर्दै यी शब्द सुमन सश्रद्धा र्समर्पण गर्दछु ।

मेरी छोरी

मेरो स्यानो जिन्दगीमा खुशीको,
छर्दै मीठो वासना पालुवाको-
सानी – सानी अप्सरा वर्लिएर,
सज्जा दिंदा जिन्दगी भो बिभोर ॥१॥

इन्द्रेणी झैं सप्‍त – रंगी खुसीको-
चढ्यो‌ लाली आज मेरो धरामा,
नौला – नौला स्वप्न उद्‌घोष साथ-
झुल्क्यो मेरो जिन्दगीमा प्रभात ॥२॥

मोती जस्ता दन्तमाला उघारी-
हाँस्छे मीठो छन्दमा फुट्छ लोली
केस्रा – केस्रा ओठ ती लाल – लाल-
फर्फर्राई निस्कने प्यार साथ- ॥३॥

तोते – बोली ! साथमा सासको त्यो-
मीठो – मीठो वासना जिन्दगीको,
मेरो बासी जिन्दगी भो सुनौलो,
पाई ताजा प्रेमको कान्ति नौलो ॥४॥

रंगी – चंगी कल्पनामा बहँदै
मीठा – मीठा स्वप्नका नूर छर्दै-
पोती मेरो नीर आकास सारा-
चन्द्रिकाले । दूर नाचे सितारा ॥५॥

ठूला आँखा ज्योत्सनाको मुहान
वैसाली त्यो नित्य चुम्दा बिहान-
तोते बोली, ओठ खोली मुसुक्क-
‘बाबा !’ भन्दै छेउ बस्छे टुसुक्क ॥६॥

‘मामू !’ भन्दै खुर्र दौडेर जान्छे
लड्छे उठ्छे मन्द मुस्कान छाड्छे,
आमा बोक्दै काखमा चुप्प – चुप्प-
माया गर्छिन्‌ छातिमा ली लुपुक्क ॥७॥

देखाउँदै रीस गाला फुलाई
घुर्काउँदा बाल – हठ् त्यो जताई-
लोला साना नाकका ती अमोल-
शोभा बन्छन्‌, रूप झन्-झन्‌ कमाल ॥८॥

प्यारो उस्को आकु* लाई सिंगारी
साना – साना हातले त्यो मुसारी,
‘हाऽ ! हाऽ !’ भन्दा काखमा ली फुरुक्क-
फुल्छन्‌ थुँगा ओठमा ती सुटुक्क ॥९॥

हेर्दा उस्को बाल लीला अपार
जाज्वल्य त्यो सौम्यगन्धी मुहार,
हृत्तन्त्रीका तार झंकृत हुन्छन्‌
ब्यथा सारा दूर भै दूर जान्छन्‌ ॥१०॥

* आकु- जापानी शब्द आकाच्यान(स्यानो मानव शिशु) बाट ‘स्यानो पुतली (गुडिया)’ लाई स्नेहपूर्वक कविकी छोरीले राखेको उपनाम।

अनुरोध

२००५-१२-१०
साप्पोरो, जापान ।

झर्‍यो पात एक, इतिहास लेखी,
कोपिला त्यो फक्‍र्‍यो सपना समेटी ।
‘म फुल्नु छ ! फुल्छु !!’ कोपिलाले भन्छ,
‘त्यसैमा म भुल्छु !!’ भ्रमरा कहन्छ ॥१॥

मिले हात तिम्रा, म बढ्थें अगाडी,
पाए साथ तिम्रो सबै बिघ्न नाघी ।
तिमी मूर्च्छना हौ ! मेरो कल्पनाको,
तिमी नै किनारा मेरो जिन्दगीको ॥२॥

बढ्यो छाल एक समुन्द्रै समेटी,
छोएर किनारा दियो छाप भेटी ।
‘क्षितिजमा म झुक्छु !!’ आकास भन्छ,
‘त्यहीं तिम्लाई चुम्छु !!’ धर्ती कहन्छ ॥३॥

पोतवार एक्लो मेरो जिन्दगीको,
डुबी – तैरदैंछ, खोजी पूर्ण जुन ।
आई सम्हाल, मेरो हाल दिलको,
तिमी तारणी हौ, मेरो जिन्दगीको ॥४॥

अहो ! चन्द्र हेर अति छन्‌ बिभोर,
सेताम्य बिस्कुन जुनको छरेर ।
ओढी चाँदनी त्यो निशा फक्रिएकी,
भिजी ओसमा लौ झनै निख्रिएकी ॥५॥


मेरो जिन्दगीको तिमी पूर्णिमा हौ,
घना बादलुमा कहाँ लुकेकी छौ ?
नओढ भो लाज, म हुन्छु बेहाल,
मेरो रित्तो जीवन आएर सम्हाल ॥६॥

Tuesday, November 10, 2009

झझल्को

सीमा भारतको नया मुलुक यो नेपालको काखमा
मेरो बाल्य थलो मधेश खजुरा* पश्‍चिम नेपालमा
माँ बागेश्‍वरीको* क्रिडास्थल अहो! ग्वालाहरुको बलो
चुरे पर्वतको सिरान बढिया यो उष्णताको थलो ॥१॥

भैंसी गाइ लिई बथान बहुतै साथीहरु भेलमा
तर्थ्यौं त्यो किरनै* नदी सहज नै पुग्थ्यौं अनि फाँटमा
खान्थ्यौं ती बनका तिजुँ, बयर औ जामून, किम्बू अनि
खेल्थ्यौं खेल थरी – थरी सब मिली काटेर घाँसै पनि ॥२॥

बित्थ्यो साँझ बिहान हामी सबको थाहै नपाईकन
बस्ता* त्यो जब खुल्‍दथ्यो शयनको हुन्थ्यो ठूलो चाहना ।
घोक्ने पाठहरु प्रसस्त तर लौ टाईम काहाँ थियो
भोलीको भरमा कुनै पनि हरे ! पाठै सिधिन्न थियो ॥३॥

माष्‍टर्जी ननिका, कडा अनि छुचा पाठै नसिध्याँउदा
भाग्थ्यौं लौ डरले त्यहीं नजिकको छाया मुनी बृक्षका
ल्याएको सँगमा चमेना सबको बाडेर खाईकन
गाउँथ्‍यौं बिरहा* रमेर सबले भाका मिलाईकन ॥४॥

सारा पोल अहो ! जसै घर महाँ पाठ्शालाका पुग्दथे
बाबाको मुखमण्‍डलै भर तहाँ ! मुस्कान नै नाच्दथे ।
भन्दा मृदुल वोलीले किन अहो ! बाबू नपढ्ने भइस्‌ ?
न्युराई शीर चूपचाप रमिते बन्थें । अनि रीशले- ॥५॥

बाबाले सँगको छडी लिई कठै सोंठ्‍याउदा बेसरी
रूँदै काख महाँ गई जननीको लाडे बनी सुस्तरी
उफ्रँदै नजिकै खला* तक गई बोलाई संगी सब
खेल्थ्यौं डण्डि –बियो, कपर्दि सबले पालो मिलाई तब ॥६॥

बित्यो बालपना छिटै अनि भयो टाढा खजुरा पनि
स्वप्नै मात्र भयो सुखी जीवन औ ती ख्याल - ठट्टा अनि
साथी ती छुटिए कता पुगिगए एक्लो म छु साथमा
ताजा यादहरु लिई मगजमा तैरन्छु एकान्तमा ॥७॥

*खजुरा- मध्य पश्‍चिम तराईको एक गाँउ ।
*बागेश्‍वरी- नेपालगंज सहरमा अवस्थित एक प्रसिद्ध मन्दिर ।
*किरन- खजुरा मा बग्ने एउटा सानो खोला ।
*बस्ता- स्कुल लाने झोला ।
*बिरहा- पश्‍चिम तराईमा गाईने अवधि (स्थानिय) भाषाको लोक गीत ।
*खला- खलिहान, खमार, दाँई गर्ने सम्म परेको ठाँउ ।

२००५।०७।१०