Thursday, November 19, 2009

पृयतमा

मुहार शौम्य चन्द्र झैं । प्रत्यंग हाय ! कोमल
गुलाफ फुल्छ ओठमा । सुरम्य आह ! कुन्तल ।
सुश्राब्य मृदु – बोलीकी धनी पृया निरञ्जना
नशालु नैन गर्दछन्– अथाह गोप्य मन्त्रणा ॥१॥

कपोल लाल हाय ! ती सफेद दन्‍त मालिका
छ केश मेघ झैं घना ! ती नैन आह ! कातिल
उठेको पुष्‍ट बक्षले अनेक साउती गरी
निमन्त्रणा पठाउँछन्‌ मलाई नै घडी – घडी ॥२॥

बसन्त मञ्जरी सरी फुलारु वैंस कल्‌कल
म अन्ध बन्छु हाय ! लौ फुरुंग हुन्‍छु पल्‌पल ।
म जित्छु हार्छु जिन्‍दगी उपासनामा प्रेमको
अनेग गीत गाँउछु वियोगमा नि प्रेमको ॥३॥

सुधांसु माद घोल्दछन्‌ गरेर बृष्‍टी जुनको
निशा झनैं पिलाउँछिन्‌ नशा मदीय शीतको ॥
छ रात मस्त साथमा पृया र प्रेम अमृत
बहन्छ रक्त वेगले हृत्तन्त्री हुन्छ झंकृत ॥४॥

पृयाको बाहु पासमा ! आलिङ्गनामा चुम्बन
मिसिन्छ सास सासमा समग्र बल्छ दन्‌दन ।
म हुँ गरीब याचक ! तिमी मुहान प्रेमको
म नित्य गर्छु पूजन ! तिमी प्रतीक प्रेमको ॥५॥

म हेर्छु जून – तारिका असंख्य दूर व्योममा
म खोज्छु मेरी राधिका । प्रद्युम्न बन्‍छु जोसमा–
अधीर भ्रमरो बनी सुवाष खोज्छु प्रेमको
सखी ! तिमी पृयतमा ! सुगन्धी पुष्प प्रेमको ॥६॥

श्रद्धा-सुमन

कस्तो क्रूर अहो ! रहेछ नियती स्वप्ना सबै रल्लिए
स्याना यी मनमा भए जति सवै इच्छाहरू वैलिए ।
सुके पुष्प सबै बसन्त ऋतु मै रोगी हुँदा मौसम
कालो मात्र कठै देखिन्छ जग यो खोक्रो बिरानोपन ॥१॥

पल्क्यो काल यहाँ भिरीकन हरे ! नाना बहानाहरु
गोलीको बमको सिकार जगमा निर्धा र सानाहरु ।
कालो बादल मृत्युको सब दिसा ढाकेर फैल्यो यहाँ
निल्यो शान्ति सबै ! अरिष्‍ट समयै; आतंक नाच्यो यहाँ ॥२॥

प्रहन्ताहरु घुम्दछन्‌ जगतमा सातो सबैको हरी
रोपी मृत्यु अनाहकै रगतको चौतर्फ वर्षा गरी ।
अट्टाहास बिभत्स ! मौन जगको बढाउँछ ढुक्‍ढुकी
गर्छन्‌ राज यहाँ नपुङ्सक हरे काँम्छन्‌ त्यसै थर्थरी ॥३॥

सामन्ती जगका कहारहरु यी पाखण्डमा रम्दछन्‌
सत्ता निम्‍ति हरे ! जुनै किसिमको प्रपञ्च यी रच्दछन्‌ ॥
ब्यर्थै न्याय नखोज हे स्वजन हो ! सुन्ने यहाँ को छ र ?
निर्धाको मनका व्यथाहरु कठै बुझ्ने यहाँ को छ र ॥४॥

जान्छौं पुष्पकमा चढी म अनिसा ! सन्ध्या* ! नहेरी त्यता
आसा न्याय-निसाफको अब तेता ! ब्यर्थै छ यो मान्यता !
बिधाता यदि रैछ कोहि जगको ! सोध्छौं उनै सम्मुख
हाम्रो दोष थियो र के ? फगतमा आसा चुँडायौ सब ॥५॥

यस्तै हो त्यस लोकमा बुझ तिमी मिल्दैन शान्ति सुख
मान्छे भो पशु तुल्य ! आह ! ममता रोयो कठै सुक्सुक ।
भाग्यो लौ करुणा ! कता तिर गयो सद्भावको मन्त्रण ?
सच्चा डोर सबै मतान्धहरुले लुछे, चुँडे बन्धन ॥६॥

बाबा ! हे जननी ! कयौं रहर ती तिम्रा लिई साथमा
छाड्यौं यो धरती बिना कसुर नै मान्छे हुँदा राक्षस ।
मिल्दो रैछ पुनर्जन्म नै यदि भने तिम्रै भै सन्तती
गर्नैछौं सपना साकार सब ती तिम्रा ! नयाँ जन्म ली ॥७॥

हाम्रो याद भए जति सब तिमी बिर्सेर फालीकन
साथी हो ! मनमा भए जति सबै तीता मिठा सम्झना ।
आ-आफ्नो रथमा सवार जगको फाली कुरीती सब
हिंसा-हीन समाजको जगतमा निर्माण निम्ति जुट ॥८॥

*अनिसा, सन्ध्या- सन २००७ मा काठ्माण्डौमा भएको सिरियल बम-बिष्‍फोटनमा परी बितेका स्कुले छात्राहरु।

प्रकृति नियम

२००७।०४।१०
साप्पोरो, जापान ॥

अनन्त फैलियो यहाँ फुटेर शूक्ष्म सैकत
पदार्थका कणा - कणा अनन्य शक्ति द्योतक
पदार्थ - शक्ति, सृष्‍टिका अगण्य द्वैत संगम
अनन्त्य कालको धुरी ! ब्रह्माण्ड घुम्छ फन्‌फन ॥१॥

अनन्त भौतिकी जगत्‌ समस्त जीव, सृष्‍टिका
नक्षत्र, सूर्य, चन्‍द्रमा खगोलका निहारिका
नदी, समुन्द्र, हैमका चुली, पहाड, पर्वत
पदार्थ - शक्ति कै बडो बिराट रूप सार्थक ॥२॥

बिभिन्न सूत्रमा उनी प्रकृति सृष्‍टि गर्दछिन्‌
पदार्थ - शक्ति जोहदैं अनेक छद्म रच्दछिन् !
गरेर सृजना नयाँ, अपार सौम्य, कल्‌कल
निमोठ्न उद्यत स्वयम् गरेर नाश पल्‌पल ॥३॥

झरेर पात बृक्षमा नयाँ मुना पलाउँछन्‌
तिनै मुना वयस्क भै कठै पुन: हराउँछन् -
तथापि बृक्ष शाखमा जिजीविषा यथेष्‍ठ छ
अनेक बज्र कालको सहेर ज्युन पोख्त छ ॥४॥

हिजो जहाँ समुन्द्रका बिशाल छाल उर्लिए
सफेद टाकुरा बनी हिमाल आज अग्लिए !
बिशाल डाइनोसरै ! गरेर नाद, गर्जना
हिजो यहीं त घुम्दथे ! कठै विलुप्‍त आज ता ॥५॥

गुफा - गुफा चहार्नु नै हिजो त नित्‍य दैनिकी
उही मनुष्य आज भोग्छ लौ अपूर्व जिन्दगी ॥
देखिन्छ आज जो यहाँ हिजो थिएन किञ्चित
छ आज जो भविष्‍यमा रहन्न यो छ निश्‍चित ॥६॥

चलायमान कालको अमूर्त विन्दु – विन्दुमा
बिनाश-सृष्‍टि बिम्बिका ! प्रकृति धर्म -तन्त्रमा -
बिनाश मै छ सृष्‍टिको अथाह डिम्ब सेचन !
नियन्त्रणा ! प्रकृतिको अपार नाट्य मञ्चन ॥७॥

अल्लाहलाई निवेदन

२००४।०९।१५

घना गृहै युद्ध, मुलुक भर नै बादल सरी
अनिश्‍चित प्राणै यो, अव शिव हरे ज्‍युनु कसरी ?
भरै के ? गोली त्यो ! पट - पट कतैबाट उदर-
फुटाई प्राणै यो, हरण सहजै गर्न सबल ॥१॥

म एक्‍लो श्रोतै त्यो, बिकल घरमा गाँसहरुको
सुराकी, बिद्रोही पनि फगत मै लक्ष्य सबको
तगारो सत्ताको पनि दिन दिनै मैं हुन गएँ
मुटु यो भारी भो, छटपट ! ब्‍यथा नै बढि भए ॥२॥

पिता - माता बृद्धा, सकल अबुझा सन्‍ततीहरु
जहानै मेरी ती, हर - बखत शेवै गरी अरु
सघाँउथिन्‌ मै लाई सकुशल रथै तान्‍न घरको
थियो यात्रा गाह्रो जीवन पथमा यो अबलको ॥३॥

अघोरी आतंकै सहन सजिलै मुश्‍किल हुँदा
मुलुकै त्यागी त्यो झट - पट बिदेशी सरणमा
गएको देखेथें दिन – दिन चिनेकाहरु सब
गरेंथे निर्णयै ‘म पनि गई हालौं !’ भनि तब ॥४॥

छिचोली पर्वतै, नदी अनि समुन्द्रै, बन पनि
गती ली वायूको गगन भर नै गर्जन गरी
घटा ती मेघैको पनि पल - पलै देख्‍न सकियो
अभागी पुर्पूरो सहज सित जोर्डन पुगि गयो ॥५॥

मिलाई जम्मा दर्जन - जन थियौं जान फगत
“इराकै जाओ लौ !” दिइकन कठै उर्दि सहज
कुदाए गाडीमा पथभर धुलो बुङ्ग उडी गो
अहो ! कस्तो रुक्‍खो ! मन‍, पवन मृगै-मरिचिको ॥६॥

उजाडै भूमी त्यो, दुर - दुर ताहाँ बृक्ष न लता
न देखिन्थे पंक्षी नभ भर ! न ता जन्तु फगत
न पानी नै त्याँहा ! सुदुर तक रेतै गरम त्यो
डढेलै लागेथ्यो मन भितर देखी नजर त्यो ॥७॥

विभासा गर्भैमा दूर क्षितिजको सुस्त गतिले
बिलाए पोती त्यो अबनि पनि लालै किरणले
न भूमी आफ्‍नो त्यो न त थिए कुटुम्बै पनि कुनै
मनै यो भन्दैथ्यो, “अब मरण भो लौ अनाहकै”॥८॥

नभन्दै आए ती अमनुजहरुका दुतहरु
बनाए बन्दी नै नबुझिकन हाम्रा मनहरु
भनेको, “अल्लाहा !” सिवाय अरु केही नबुझिने
जबानै अप्ठ्‍यारो सहजसित बोल्नै नसकिने ॥९॥

सुनायौं खोली त्यो मन भितरका दु:ख र पिर
बुझायौं ज्‍यामी हौं भनिकन मनैका बह सब
चिनाई नक्शामा मुलुक अति सानो भनिकन
बतायौं बुद्धैको जनम - थलका हौं भनिकन ॥१०॥

पुकारा देशैको निरिह सरकारै सित पनि
‘बचाओ प्राणै यो ! गरिकन अपीलै अब !’ भनी
‘भरोसा त्यत्ति मै अब फगत प्राणै रहनको !’
गरेथ्यौं टिभी मै पटक पटक त्यो अरबको ॥११॥

नहुँदा देशै त्यो, जगत भर नै खास सबल
नगर्दा रत्ति नै पनि जबरले खोज खबर
कठै यी प्राणैको, हबिगत हुने भो अब छिटै
बिदेशी भूमीमा, अब सिंचन भो लौ रगत कै ॥१२॥

लडाई बालूमा, नयन पनि छोपी फगत यी
न हातै नै खुल्ला, न त सकिनु चल्नै अलिकति
नबोल्नै पाइयो, मरण पलमा अन्तिम घडी
अहो कस्तो भाग्यै, कति कठिन भो जीवन गति ॥१३॥

छुरा ली धारीला, झटपट अहो ! रेट्न अब त
बसे ती ‘अल्लाहा !’ लिइकन कठै नाम फगत
भिजायो बालू त्यो, रगत जमिनैमा बगि दिंदा
सकियो चोला त्यो, अनि सुरु भयो यात्रा नविन ॥१४॥

पुगी दैवी लोक्‌मा सहज सित भेटै गरिकन
निवेदन्‌ अल्लाहासित ‘किन ! कठै मानविपन !”
‘हरायो धर्तीमा ! अब अरु कतिन्जेल तक ?’ भनी
गरौंला प्रार्थाना, ‘मनुज सबको हृदय भरी’ ॥१५॥

‘दया माया मात्रै, सकल भरि देऊ अब अनि,
नदेऊ रत्ति नै, फिंजिन असहिष्णुपन पनि
फुलाऊ धर्ती त्यो ! सबजन रहुन् हर्षित भई
कसैको मेरो झैं, मरण अब नहोस् लौ अनाहकै ॥१६॥

-इराकमा अनाहकमा प्राण गुमाएका निर्दोष नेपालीहरुको आत्माको चीर शान्तिको कामना गर्दै यी शब्द सुमन सश्रद्धा र्समर्पण गर्दछु ।

मेरी छोरी

मेरो स्यानो जिन्दगीमा खुशीको,
छर्दै मीठो वासना पालुवाको-
सानी – सानी अप्सरा वर्लिएर,
सज्जा दिंदा जिन्दगी भो बिभोर ॥१॥

इन्द्रेणी झैं सप्‍त – रंगी खुसीको-
चढ्यो‌ लाली आज मेरो धरामा,
नौला – नौला स्वप्न उद्‌घोष साथ-
झुल्क्यो मेरो जिन्दगीमा प्रभात ॥२॥

मोती जस्ता दन्तमाला उघारी-
हाँस्छे मीठो छन्दमा फुट्छ लोली
केस्रा – केस्रा ओठ ती लाल – लाल-
फर्फर्राई निस्कने प्यार साथ- ॥३॥

तोते – बोली ! साथमा सासको त्यो-
मीठो – मीठो वासना जिन्दगीको,
मेरो बासी जिन्दगी भो सुनौलो,
पाई ताजा प्रेमको कान्ति नौलो ॥४॥

रंगी – चंगी कल्पनामा बहँदै
मीठा – मीठा स्वप्नका नूर छर्दै-
पोती मेरो नीर आकास सारा-
चन्द्रिकाले । दूर नाचे सितारा ॥५॥

ठूला आँखा ज्योत्सनाको मुहान
वैसाली त्यो नित्य चुम्दा बिहान-
तोते बोली, ओठ खोली मुसुक्क-
‘बाबा !’ भन्दै छेउ बस्छे टुसुक्क ॥६॥

‘मामू !’ भन्दै खुर्र दौडेर जान्छे
लड्छे उठ्छे मन्द मुस्कान छाड्छे,
आमा बोक्दै काखमा चुप्प – चुप्प-
माया गर्छिन्‌ छातिमा ली लुपुक्क ॥७॥

देखाउँदै रीस गाला फुलाई
घुर्काउँदा बाल – हठ् त्यो जताई-
लोला साना नाकका ती अमोल-
शोभा बन्छन्‌, रूप झन्-झन्‌ कमाल ॥८॥

प्यारो उस्को आकु* लाई सिंगारी
साना – साना हातले त्यो मुसारी,
‘हाऽ ! हाऽ !’ भन्दा काखमा ली फुरुक्क-
फुल्छन्‌ थुँगा ओठमा ती सुटुक्क ॥९॥

हेर्दा उस्को बाल लीला अपार
जाज्वल्य त्यो सौम्यगन्धी मुहार,
हृत्तन्त्रीका तार झंकृत हुन्छन्‌
ब्यथा सारा दूर भै दूर जान्छन्‌ ॥१०॥

* आकु- जापानी शब्द आकाच्यान(स्यानो मानव शिशु) बाट ‘स्यानो पुतली (गुडिया)’ लाई स्नेहपूर्वक कविकी छोरीले राखेको उपनाम।

अनुरोध

२००५-१२-१०
साप्पोरो, जापान ।

झर्‍यो पात एक, इतिहास लेखी,
कोपिला त्यो फक्‍र्‍यो सपना समेटी ।
‘म फुल्नु छ ! फुल्छु !!’ कोपिलाले भन्छ,
‘त्यसैमा म भुल्छु !!’ भ्रमरा कहन्छ ॥१॥

मिले हात तिम्रा, म बढ्थें अगाडी,
पाए साथ तिम्रो सबै बिघ्न नाघी ।
तिमी मूर्च्छना हौ ! मेरो कल्पनाको,
तिमी नै किनारा मेरो जिन्दगीको ॥२॥

बढ्यो छाल एक समुन्द्रै समेटी,
छोएर किनारा दियो छाप भेटी ।
‘क्षितिजमा म झुक्छु !!’ आकास भन्छ,
‘त्यहीं तिम्लाई चुम्छु !!’ धर्ती कहन्छ ॥३॥

पोतवार एक्लो मेरो जिन्दगीको,
डुबी – तैरदैंछ, खोजी पूर्ण जुन ।
आई सम्हाल, मेरो हाल दिलको,
तिमी तारणी हौ, मेरो जिन्दगीको ॥४॥

अहो ! चन्द्र हेर अति छन्‌ बिभोर,
सेताम्य बिस्कुन जुनको छरेर ।
ओढी चाँदनी त्यो निशा फक्रिएकी,
भिजी ओसमा लौ झनै निख्रिएकी ॥५॥


मेरो जिन्दगीको तिमी पूर्णिमा हौ,
घना बादलुमा कहाँ लुकेकी छौ ?
नओढ भो लाज, म हुन्छु बेहाल,
मेरो रित्तो जीवन आएर सम्हाल ॥६॥

Tuesday, November 10, 2009

झझल्को

सीमा भारतको नया मुलुक यो नेपालको काखमा
मेरो बाल्य थलो मधेश खजुरा* पश्‍चिम नेपालमा
माँ बागेश्‍वरीको* क्रिडास्थल अहो! ग्वालाहरुको बलो
चुरे पर्वतको सिरान बढिया यो उष्णताको थलो ॥१॥

भैंसी गाइ लिई बथान बहुतै साथीहरु भेलमा
तर्थ्यौं त्यो किरनै* नदी सहज नै पुग्थ्यौं अनि फाँटमा
खान्थ्यौं ती बनका तिजुँ, बयर औ जामून, किम्बू अनि
खेल्थ्यौं खेल थरी – थरी सब मिली काटेर घाँसै पनि ॥२॥

बित्थ्यो साँझ बिहान हामी सबको थाहै नपाईकन
बस्ता* त्यो जब खुल्‍दथ्यो शयनको हुन्थ्यो ठूलो चाहना ।
घोक्ने पाठहरु प्रसस्त तर लौ टाईम काहाँ थियो
भोलीको भरमा कुनै पनि हरे ! पाठै सिधिन्न थियो ॥३॥

माष्‍टर्जी ननिका, कडा अनि छुचा पाठै नसिध्याँउदा
भाग्थ्यौं लौ डरले त्यहीं नजिकको छाया मुनी बृक्षका
ल्याएको सँगमा चमेना सबको बाडेर खाईकन
गाउँथ्‍यौं बिरहा* रमेर सबले भाका मिलाईकन ॥४॥

सारा पोल अहो ! जसै घर महाँ पाठ्शालाका पुग्दथे
बाबाको मुखमण्‍डलै भर तहाँ ! मुस्कान नै नाच्दथे ।
भन्दा मृदुल वोलीले किन अहो ! बाबू नपढ्ने भइस्‌ ?
न्युराई शीर चूपचाप रमिते बन्थें । अनि रीशले- ॥५॥

बाबाले सँगको छडी लिई कठै सोंठ्‍याउदा बेसरी
रूँदै काख महाँ गई जननीको लाडे बनी सुस्तरी
उफ्रँदै नजिकै खला* तक गई बोलाई संगी सब
खेल्थ्यौं डण्डि –बियो, कपर्दि सबले पालो मिलाई तब ॥६॥

बित्यो बालपना छिटै अनि भयो टाढा खजुरा पनि
स्वप्नै मात्र भयो सुखी जीवन औ ती ख्याल - ठट्टा अनि
साथी ती छुटिए कता पुगिगए एक्लो म छु साथमा
ताजा यादहरु लिई मगजमा तैरन्छु एकान्तमा ॥७॥

*खजुरा- मध्य पश्‍चिम तराईको एक गाँउ ।
*बागेश्‍वरी- नेपालगंज सहरमा अवस्थित एक प्रसिद्ध मन्दिर ।
*किरन- खजुरा मा बग्ने एउटा सानो खोला ।
*बस्ता- स्कुल लाने झोला ।
*बिरहा- पश्‍चिम तराईमा गाईने अवधि (स्थानिय) भाषाको लोक गीत ।
*खला- खलिहान, खमार, दाँई गर्ने सम्म परेको ठाँउ ।

२००५।०७।१०

Monday, November 9, 2009

स्वप्न सुन्दरी ॥

सृष्टिको भब्यता फूलको पत्रमा
स्वप्नको सप्तरंगी अहो! लोकमा
नित्य देखिन्छ उछ्वासमा, सासमा
वागमा, रागमा, व्योमको साजमा॥१॥

कल्पना रासको फक्रदाँ यत्नले
चाहना यौनका मौन भै वर्षिए
दिब्य आभाष यो! मात्तिएँ आह! म
लट्ठ भै छालमा पौडिएँ हाय! म॥२॥

स्वर्गका अप्सरा धर्ती मैं वर्लिए
व्योमका साज ती तालमा घन्किए
माधुरी नृत्य भो स्वप्न संसारमा
प्रेयसी साथमा कल्पना वागमा॥३॥

जूँनको फींजमा तारिका चम्किए
पातमा ओसका मोति पो टल्किए
कापमा नैनको चाहना छल्कियो
सासको वेगमा ढुक्ढुकी तीब्र भो॥४॥

रंगियो जिन्दगी स्वप्न वर्षातले
वासना फैलियो नुत्न उन्मादले
स्वप्नकी सुन्दरी साथमा भैदिंदा
फक्रियो जिन्दगी हर्ष उल्लासले ॥५॥

मायाको संझनामा

जुनको फींजमा शीतका थोपा
पग्लिएको देख्दा
बिदाईको पल तिम्रा
भिजेका परेली याद आउँछन् ।

पुन् डाँडाबाट झुल्के घाम हेर्दा
वतासले तिम्रो कुन्तल उडाएको;
राँके भञ्ज्याङको चिसो पवनले तिमीलाई
मेरो अँगालोमा ल्याएको;
पैंयुका फूलहरु यहाँ फक्रिँदा
जवानीका ती पल याद आउँछन् ।
जुनको फींजमा ………..।

रोपाँईको मैजारोमा हिलो खेलेर
पँधेरोमा सँगै सबै धोएको
खरबारी छेऊ पिरती साट्दा
जोरी-पारीले जिस्काएको
युगल जोडीहरु यहाँ देख्दा
अनेक लहरहरु मनमा आँउछन् ।
जुनको फींजमा शीतका थोपा
पग्लिएको देख्दा
बिदाईको पल तिम्रा
भिजेका परेली याद आँउछन् ॥

अराज्यवादी

फगत जिन्दगी यो कता भासिएछ
जता मिल्छ माँड उतै टाँसिएछ
नसोध मलाई म को हुँ? म के हुँ?
पसिनाको मोतीमा म रम्ने मनु हुँ !

होला कोइ देस, होला कोइ भेष
बिबिध खाले आफ्नै होलान् परिवेश
रगत रातो उस्तै, चाहना नि उस्तै
सीमानाको चर्चा नगर भो ब्यर्थै ॥

न सीमा मेरा निम्ति न क्यै राष्ट्र-भाव
न कालो वा सेतोको छ क्यै भेद-भाव
मेरो जात मान्छे म धरतीको वासी
यो ठूलो बँगैचाको म स्वप्नीलभाषी !!

म नाँच्छु, म हाँस्छु परिभाषामूक्त
म स्वतन्त्र मानव हुँ मानवतायुक्त
मेरो कामना यै छ म यस्तै नै बाँचू
फुलै-फुल दिन सकूँ म काँडा न साँचु !!

मातृभूमीको यादमा !

आज-भोली झण्डा फेर्ने हल्ला आएको छ
साथी-भाइबीच ठूलो चर्चा पाएको छ ॥
नेपलकै नाम भोली फेरीने पो हो की
नेपालीले आजै सोच्ने बेला आएको छ ॥

झस्की-झस्की हिमालले धेरै रगत देख्यो
फेरी पनि रगत कै गन्ध आएको छ ॥
युगौं देखिन् अटल यो मेरो मातृ-भूमी
आझ आफैं आफैं देखी डग्मगाएको छ ॥

जुधी-जुधी नेपाली नै लाखापाखा हुँदा
सत्रु माझ आज पक्कै खुसी छाएको छ ॥
सिंगो नेपाल छिन्न-भिन्न हुन लागिसक्यो
नेपाल नै नरहने खतरा छाएको छ ॥

आज-भोली झण्डा फेर्ने हल्ला आएको छ
बुद्धिजीवी बीच ठूलो चर्चा पाएको छ ॥
नेपलकै नाम भोली फेरीने पो हो की
नेपालीले आज सोच्ने बेला आएको छ ॥

कामना

फैलोस् लोक भरी सुवाष अब ता नेपालको मग् – मग,
मौलाएर बढोस् धरा अब सदा सद्मार्गमा पल् - पल,
नांगा प्रस्तरमा, मधेश, हिमका अग्ला चुली, शैलमा,
नेपाली पसिना फलोस् अब सदा पाखा पखेरा महाँ ॥१॥

स्वामी, मालिक, दास, रैति अथवा ठूला र साना अनि-
मान्छे बीच नहोस् विभेद ननिका जाती र पाती भनी,
मानव्ता अब एक धर्म सबको पूजा बनोस् कर्म ता,
मैत्री भाव सदा रहोस्, सकल ती आत्मा बनुन् देवता ॥२॥

अत्याचार, अनीतिका सब सुकुन् सोताहरू नाश भै -
कालो त्यो मनको अचेतपनको उघ्रेर आकास नै,
हाँसो फक्रिरहोस्, हटोस् विषमताको शून्यता । ज्ञानको -
उज्यालो झलमल्ल भै अब सबै ढाकोस् कुना व्योमको ॥३॥

मान्छेको अधिकार सूचित हुने बोल्ने र लेख्ने अनि
स्वेच्छाले जनको चुनी सदन नै गर्ने स्वशासन् पनि-
पाउन् भोग्न सवै, सवै जन यहाँ स्वामी बनुन् देशको,
भत्कोस् व्याल परम्परा मुलुकमा सामन्तको राजको ॥४॥

रोटी, वास – थलो, लुगा मनुषका नैसर्गिकी यी हक
यिन्का निम्ति कतै नहोस् अब यहाँ व्यर्थै कुनै झञ्झट,
उर्लोस् भेल बनी समान हकको सद्भाव, सद्मङ्गल
अस्ताई कुरिती नया किरणको झुल्कोस् बिहानी अब ॥५॥

लक्ष्मीमा समर्पित कलमको क्रन्दन

नलेखौं ? लेखौं के ? भन न तिमी नै आज म हरे
उनौं कस्ता शब्द ? कसरी कविता लेंखु अहिले ?
जयन्तीमा तिम्रो कुन सुमन लौ अर्पण गरौं ?
सुके सारा पुष्पै, किशलय सुके मञ्जरीहरु ॥१॥

हिजो लक्ष्मी हुँदा जति पनि थिए आस किरण
सबै नास्सिंदाछन् दिन – दिन अहो मृत्यु वरण
समाजै टुक्रिई सगर सब रातो हुन गयो
जता हेर्यो मृत्यु हरपल कहाली बनि गयो ॥२॥

सुगन्धी वायूमा विष सरी अहो गन्धक अनि
हिमाली पाखामा हरदम कठै बन्दुक पनि
घुमेका प्रहन्ता बिबिध रङमा भेष बदली
सधैं सातो हर्छन् सकल जनका क्लान्त मन ती ॥३॥

हिजो के थ्यो लक्ष्मी यस मुलुकमा विप्लव भन ?
अहो सारा संसार दिन दिन भयो क्रन्दित किन ?
हिमेन्द्रको कान्ती धुमिल जगमा आज किन भो ?
गुरुत्व बुद्धैको पनि पल – पलै क्षीण किन भो ? ॥४॥

नबुझी गुह्यै यी युग युग बिते केही नगरी
सबै सत्ताधारी हर दम उही छद्म मति ली
लुछा – चूँडी गर्ने पल पल अहो शोषण अनि
तिनैले निम्त्याए अति समरको ताण्डव पनि ॥५॥

खरानी भो देशै सहन नसकी युद्ध बिभीषा
बिथोलियो शान्ति सकल जनको दारुण कथा
गरौं लक्ष्मी मैले कुन तवरले वर्णन अब ?
मसी यो रातो भै कलम बिचरा रुक्दछ जब ॥६॥

अन्तराष्ट्रिय नेपाली साहित्य समाज जापानले सन २००५ मा टोक्योमा आयोजना गरेको लक्ष्मी जयन्तीमा बाचित कविता ॥

अस्तित्वबोध

केहि अघि किर्तिपूर, भूगर्भशास्त्र केन्द्रिय शिक्षण भिभागमा अध्यनरत रहँदा एउटा कविताको खेस्रा कोरेको थिएँ जसलाई केहि परिमार्जन गरेपछि होकुदाइ बिसौनी र मझेरी डट कममा पनि यो कविता प्रकासित भयो। त्यसैलाई यहाँ पनि टाँस गरेको छु !!

मेरो अस्तित्वको अविर्भावसँगै
जननीसँग मैले
गर्भको राप माँगे
ममतामयी काख माँगे
आन्द्राको प्यास मेट्न
छातीको धार माँगे॥

बिस्तारै बामे सर्दै
बाबासँग मैले
नाना माँगे, चाचा माँगे
थिगिर-थिगिर गर्दै
सहाराको हात माँगे,
सुरक्षित काख माँगे॥

पाठशालाबाट उद्गत भै
बिश्वबिद्यालयसम्म,
जिज्ञाशाको तृष्णा मेट्न
गुरुजनसँग मैले,
चेतनाको ज्योति माँगे,
ज्ञानको मोती माँगे॥

जवानीको आगमनसँगै
जीवनमा नया उमंग आयो
एउटा नौलो नशा छायो
जवानीको मौनता बिथोल्न
प्रेयसीसँग मैले
प्रेमका बात माँगे,
मायालु साथ माँगे,
यौवनको मात माँगे॥

बिस्तारै बुढ्यौली आयो
जिवनमा निराशा छायो
सन्ततिसँग मैले
सहाराको भीख माँगे
अझ जीर्ण हुँदै जाँदा,
ईश्वरसँग मैले
मृत्युको बिष माँगे
मूक्तिको भीख माँगे ॥

यसरी जिवनका हरेक मोडहरुमा
मैले फगत माँगिरहें, माँगिरहें
र ऐले मलाई भैरहेकोछ
मेरो आफ्नै अस्तित्वबोध
कि म सिर्फ एक मगन्ते रहेछु,
कि म फगत एक भीखारी रहेछु॥

ए जुन

ए जुन ! ए जुन !

तेरो जुँनेलीमा

कदम डग्‌मगाई

म आफ्नै शहरमा

म आफ्नै डगरमा

पराई भएछु

ए जुन ! ए जुन !

हिजो मस्की मस्की

उनी साथ हुन्थिन्‌

तेरै जुँनेलीमा

कैयौं स्वप्न बुन्थिन्‌

तर आज एक्लो

म भएँ सफरमा

ए जुन ! ए जुन !

थिए चाह थुप्रै

रहरका खजाना

सँगै ज्युँने मर्ने

कसमका मूहान

तर निर्मोहीले

सबै बिर्सिन् आज

ए जुन ! ए जुन !

हिजोका ती प्यारा

मृदु पल ती सारा

जति बिर्सुं भन्छु

सवै याद आँउछन्‌

निन्द्रा वा जागा

हर पल सताँउछन्

ए जुन ! ए जुन !

हिजो यो जुँनेली

कति प्यारो लाग्थ्यो

हिजो यै जीवनमा

कति आस जाग्थ्यो

तर आज कालो

जगतै अँध्यारो

तेरै जुनेलीले

पनि पोल्न थाल्यो ।

ए जुन ! ए जुन !

तेरो जुँनेलीमा

कदम डग्‌मगाई

म आफ्नै शहरमा

म आफ्नै डगरमा

पराई भएछु

ए जुन ! ए जुन !


२००८।०९।०१

साप्पोरो, जापान !

छोरीसँग अनलाइन च्याट

छ बर्षकी मेरी छोरी
हरेक साँझ अनलाइन हुन्छे ।
कम्प्युटरको अन्तर-जालोमा
थरी-थरीका एनिमेसन पठाई
खित्का छाडी छाडी
उन्मूक्त हाँसो हाँस्छे
घरी मायाको चिन्ह साट्छे
घरी रीश अनि घुर्कीको संकेत फाल्छे ॥

प्रविधिको अनुपम शौगात
हामी दूर भएर पनि समीप छौं
विश्‍वव्यापीकरणको असह्य प्रतिघात
हामी दूर-दूर अफालिएका छौं ॥
समयको यो अन्तरबेलामा
कालान्तरको करलव मेलामा
छोरीसँगको यो कम्प्युटर-कल्पित सम्वाद
मेरो स्नायु-जालोलाई तरंगित गर्छ
ममा उत्साहको उन्माद छर्छ ॥

मानव सभ्यताको अनन्त-बक्र गोरेटोमा
वर्तमानको यो अपूर्व मोड
नया युगको प्राबिधिक उद्‌घोष-
भविष्यको कुनै कुनोमा
ब्रह्माण्डको कुनै दुलोमा
बिगतका यस्तै यस्तै
अनेकानेक नुतन काल जस्तै
अनुस्मृत काल नै त होला
क्षणभंगुर छाल नै त होला ॥
अनि यसरी नै
मानव सभ्यता अनादी कालसम्म
नव-प्रबिधिको मृग-तृष्णामा
ब्रह्माण्डको भवसागरमा
रुमल्लिई रहला !!

२००९।०८।२९
साप्पोरो, जापान !

जवानीको मात

जवानीको मात

वैसाख-२, २०५८।

तिमी त त्यसै-त्यसै

निश्छल, निश्कपट अनि

निश्कलंक थियौ ।

मरो जीवन इतिहासमा

मेरो प्रेमको प्रथम

पूजा थियौ; अर्चना थियौ !

निश्छल अनुहारमा

हृदयको अनन्त गहिराईबाट

उब्जिएको खुशी

हाँसोको रुपमा कुँदिदा

तिम्रो गालामा पर्ने खाल्डी

साँच्चै मलाई लाग्थ्यो

प्रकृतिले धेरै मिहिनेत गरेर

तिमीलाई केवल मेरा निमित्त

यस धर्तीमा पठाइदिए जस्तो।

श्याम वर्ण भए पनि;

मेरो सम्पूर्ण अस्तित्वलाई

एकाग्र पार्न सफल

तिम्रो च्यूँडोको त्यो कोठी

मानौ कसैले दुराकासबाट

तारा ल्याएर टाँसे जस्तो।

हो ! जवानीमा पाऊ राख्‍ना साथ

केही यौवनका बात गरेथें

जवानीको मौनतालाई बिथोलेथें ।

मेरो भूल नै के थियो र ?

मैले त तिमीलाई प्रेम पो गरेथें ।

तर आज;

मैले गरेको बात मलाई नै लागेछ।

तिमीलाई चैं जवानीको मात लागेछ ॥