नलेखौं ? लेखौं के ? भन न तिमी नै आज म हरे
उनौं कस्ता शब्द ? कसरी कविता लेंखु अहिले ?
जयन्तीमा तिम्रो कुन सुमन लौ अर्पण गरौं ?
सुके सारा पुष्पै, किशलय सुके मञ्जरीहरु ॥१॥
हिजो लक्ष्मी हुँदा जति पनि थिए आस किरण
सबै नास्सिंदाछन् दिन – दिन अहो मृत्यु वरण
समाजै टुक्रिई सगर सब रातो हुन गयो
जता हेर्यो मृत्यु हरपल कहाली बनि गयो ॥२॥
सुगन्धी वायूमा विष सरी अहो गन्धक अनि
हिमाली पाखामा हरदम कठै बन्दुक पनि
घुमेका प्रहन्ता बिबिध रङमा भेष बदली
सधैं सातो हर्छन् सकल जनका क्लान्त मन ती ॥३॥
हिजो के थ्यो लक्ष्मी यस मुलुकमा विप्लव भन ?
अहो सारा संसार दिन दिन भयो क्रन्दित किन ?
हिमेन्द्रको कान्ती धुमिल जगमा आज किन भो ?
गुरुत्व बुद्धैको पनि पल – पलै क्षीण किन भो ? ॥४॥
नबुझी गुह्यै यी युग युग बिते केही नगरी
सबै सत्ताधारी हर दम उही छद्म मति ली
लुछा – चूँडी गर्ने पल पल अहो शोषण अनि
तिनैले निम्त्याए अति समरको ताण्डव पनि ॥५॥
खरानी भो देशै सहन नसकी युद्ध बिभीषा
बिथोलियो शान्ति सकल जनको दारुण कथा
गरौं लक्ष्मी मैले कुन तवरले वर्णन अब ?
मसी यो रातो भै कलम बिचरा रुक्दछ जब ॥६॥
अन्तराष्ट्रिय नेपाली साहित्य समाज जापानले सन २००५ मा टोक्योमा आयोजना गरेको लक्ष्मी जयन्तीमा बाचित कविता ॥
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment