Monday, November 9, 2009

स्वप्न सुन्दरी ॥

सृष्टिको भब्यता फूलको पत्रमा
स्वप्नको सप्तरंगी अहो! लोकमा
नित्य देखिन्छ उछ्वासमा, सासमा
वागमा, रागमा, व्योमको साजमा॥१॥

कल्पना रासको फक्रदाँ यत्नले
चाहना यौनका मौन भै वर्षिए
दिब्य आभाष यो! मात्तिएँ आह! म
लट्ठ भै छालमा पौडिएँ हाय! म॥२॥

स्वर्गका अप्सरा धर्ती मैं वर्लिए
व्योमका साज ती तालमा घन्किए
माधुरी नृत्य भो स्वप्न संसारमा
प्रेयसी साथमा कल्पना वागमा॥३॥

जूँनको फींजमा तारिका चम्किए
पातमा ओसका मोति पो टल्किए
कापमा नैनको चाहना छल्कियो
सासको वेगमा ढुक्ढुकी तीब्र भो॥४॥

रंगियो जिन्दगी स्वप्न वर्षातले
वासना फैलियो नुत्न उन्मादले
स्वप्नकी सुन्दरी साथमा भैदिंदा
फक्रियो जिन्दगी हर्ष उल्लासले ॥५॥

No comments: