मेरो स्यानो जिन्दगीमा खुशीको,
छर्दै मीठो वासना पालुवाको-
सानी – सानी अप्सरा वर्लिएर,
सज्जा दिंदा जिन्दगी भो बिभोर ॥१॥
इन्द्रेणी झैं सप्त – रंगी खुसीको-
चढ्यो लाली आज मेरो धरामा,
नौला – नौला स्वप्न उद्घोष साथ-
झुल्क्यो मेरो जिन्दगीमा प्रभात ॥२॥
मोती जस्ता दन्तमाला उघारी-
हाँस्छे मीठो छन्दमा फुट्छ लोली
केस्रा – केस्रा ओठ ती लाल – लाल-
फर्फर्राई निस्कने प्यार साथ- ॥३॥
तोते – बोली ! साथमा सासको त्यो-
मीठो – मीठो वासना जिन्दगीको,
मेरो बासी जिन्दगी भो सुनौलो,
पाई ताजा प्रेमको कान्ति नौलो ॥४॥
रंगी – चंगी कल्पनामा बहँदै
मीठा – मीठा स्वप्नका नूर छर्दै-
पोती मेरो नीर आकास सारा-
चन्द्रिकाले । दूर नाचे सितारा ॥५॥
ठूला आँखा ज्योत्सनाको मुहान
वैसाली त्यो नित्य चुम्दा बिहान-
तोते बोली, ओठ खोली मुसुक्क-
‘बाबा !’ भन्दै छेउ बस्छे टुसुक्क ॥६॥
‘मामू !’ भन्दै खुर्र दौडेर जान्छे
लड्छे उठ्छे मन्द मुस्कान छाड्छे,
आमा बोक्दै काखमा चुप्प – चुप्प-
माया गर्छिन् छातिमा ली लुपुक्क ॥७॥
देखाउँदै रीस गाला फुलाई
घुर्काउँदा बाल – हठ् त्यो जताई-
लोला साना नाकका ती अमोल-
शोभा बन्छन्, रूप झन्-झन् कमाल ॥८॥
प्यारो उस्को आकु* लाई सिंगारी
साना – साना हातले त्यो मुसारी,
‘हाऽ ! हाऽ !’ भन्दा काखमा ली फुरुक्क-
फुल्छन् थुँगा ओठमा ती सुटुक्क ॥९॥
हेर्दा उस्को बाल लीला अपार
जाज्वल्य त्यो सौम्यगन्धी मुहार,
हृत्तन्त्रीका तार झंकृत हुन्छन्
ब्यथा सारा दूर भै दूर जान्छन् ॥१०॥
* आकु- जापानी शब्द आकाच्यान(स्यानो मानव शिशु) बाट ‘स्यानो पुतली (गुडिया)’ लाई स्नेहपूर्वक कविकी छोरीले राखेको उपनाम।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment