केहि अघि किर्तिपूर, भूगर्भशास्त्र केन्द्रिय शिक्षण भिभागमा अध्यनरत रहँदा एउटा कविताको खेस्रा कोरेको थिएँ जसलाई केहि परिमार्जन गरेपछि होकुदाइ बिसौनी र मझेरी डट कममा पनि यो कविता प्रकासित भयो। त्यसैलाई यहाँ पनि टाँस गरेको छु !!
मेरो अस्तित्वको अविर्भावसँगै
जननीसँग मैले
गर्भको राप माँगे
ममतामयी काख माँगे
आन्द्राको प्यास मेट्न
छातीको धार माँगे॥
बिस्तारै बामे सर्दै
बाबासँग मैले
नाना माँगे, चाचा माँगे
थिगिर-थिगिर गर्दै
सहाराको हात माँगे,
सुरक्षित काख माँगे॥
पाठशालाबाट उद्गत भै
बिश्वबिद्यालयसम्म,
जिज्ञाशाको तृष्णा मेट्न
गुरुजनसँग मैले,
चेतनाको ज्योति माँगे,
ज्ञानको मोती माँगे॥
जवानीको आगमनसँगै
जीवनमा नया उमंग आयो
एउटा नौलो नशा छायो
जवानीको मौनता बिथोल्न
प्रेयसीसँग मैले
प्रेमका बात माँगे,
मायालु साथ माँगे,
यौवनको मात माँगे॥
बिस्तारै बुढ्यौली आयो
जिवनमा निराशा छायो
सन्ततिसँग मैले
सहाराको भीख माँगे
अझ जीर्ण हुँदै जाँदा,
ईश्वरसँग मैले
मृत्युको बिष माँगे
मूक्तिको भीख माँगे ॥
यसरी जिवनका हरेक मोडहरुमा
मैले फगत माँगिरहें, माँगिरहें
र ऐले मलाई भैरहेकोछ
मेरो आफ्नै अस्तित्वबोध
कि म सिर्फ एक मगन्ते रहेछु,
कि म फगत एक भीखारी रहेछु॥
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment